काठमाडौं । सरकारले स्वास्थ्य बीमामा पुनर्संचना गर्दै विशिष्ट उपचार सेवा प्रदेशमै उपलब्ध गराउने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो समेटिएको छ ।
स्वास्थ्य बीमाको विद्यमान स्रोत अभावलाई कम गर्न छरिएको स्रोतलाई एकै ठाउँमा केन्द्रित गर्ने नीति लिएको सरकारले स्वास्थ्यकेन्द्रित सबै सहुलियत र सहायतालाई स्वास्थ्य बीमाअन्तर्गत वितरण गर्ने योजना बनाएको हो ।
स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार, गम्भीर रोगको उपचार समेत बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने सरकारको योजना छ । यसैगरी बीमा बोर्डको पुनर्संरचना गर्ने विषय पनि नीति तथा कार्यक्रमले समेटेको छ ।
आधारभूत तथा अत्यावश्यक औषधि बिमा प्रणालीमा जोड्ने, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाको सेवा एकीकृत गरी प्रभावकारिता वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
साथै सरकारले विशिष्ट उपचार सेवा सातवटै प्रदेशबाट दिइने नीति लिएको छ । सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने, क्यान्सर तथा मिर्गौला प्रत्यारोपण प्रदेशस्तरमा विस्तार गर्ने कार्यक्रम सरकारले राखेको छ ।
पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा दिने कार्यक्रम सरकारको छ ।