काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसदहरूले प्रिशाको मृत्युलाई लिएर ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले प्रिशाको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।
उनले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गरेका छन् ।
सभामुख घिमिरेले सरकारलाई रुलिङ गर्दै भने :
माननीय सदस्यहरू
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (के आई आई टी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ । उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु ।