काठमाडौं । पाकिस्तानी सेलिब्रेटीको सामाजिक सञ्जाल भारतमा हेर्न नमिल्ने भएको छ । दुई देशबीच तनाव बढिरहेका बेला शनिबारबाट भारतले पाकिस्तानी अभिनेता र क्रिकेटरका सामाजिक सञ्जालका खाता हेर्न नमिल्ने, व्यापारिक प्रतिबन्ध बढाउने र डाक सेवा रोक्ने निर्णय गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले पाकिस्तानका पूर्वप्रधानमन्त्री र क्रिकेट कप्तान इमरान खानको इन्स्टाग्राम खाता, बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ अस्लमलगायत क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान र पूर्वखेलाडी शाहिद अफ्रिदी र वासिम अक्रमलको खाता पनि भारतबाट हेर्न नसक्ने गरी प्रतिबन्धित गरिएको छ ।
गत अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटक मारिएपछि दुई देशबीच तनाव सिर्जना भएको छ । उक्त घटनामा पाकिस्तानले सहयोग गरेको भारतको आरोप छ । तर, यस आरोपलाई पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ ।