काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएको छ ।
बजेट अधिवेशनको रुपमा लिइने चालु अधिवेशनबाट ९ विधेयक पारित गर्ने सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको हो । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडैलले चालु अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको पारित गर्ने विधेयकहरुमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।