काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षयतृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै छ ।
महादेव र पार्वतीको विवाह भएको दिनका रुपमा अक्षयतृतीयालाई लिने गरिन्छ । वैशाख शुक्ल तृतीयाका दिन जौको सातु र सर्वत पानी खाएर अक्षयतृतीया मनाउने गरिन्छ । यस दिन अरुलाई पनि जौको सातु र सर्वत खुवाउने चलन पनि छ ।
अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ । यस तिथिमा गरेका कर्महरुको फल नाश नभईं दिगो रुपमा प्राप्त हुने भएकाले अक्षयतृतीयाका दिन नयाँ कामको थालनी पनि गर्ने गरिन्छ । अक्षयतृतीयाका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चाङ्ग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिने ज्योतिषीहरु बताउँछन् ।
महाभारतको लडाइँसँगै द्वापर युग सकिएको दिनका रुपमा पनि यस दिनको सम्झना गरिन्छ । सत्य र त्रेता युगको आदि दिवस अर्थात् प्रारम्भ दिवसको रुपमा पनि यस दिनलाई लिने गरिन्छ । भगवान श्रीविष्णुले नरनारायण, हयग्रीव तथा परशुरामको अवतारसमेत यसै दिन भएको शास्त्रमा वर्णन गरेको पाइन्छ ।
भगवान विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गङ्गा धरतीमा आएको दिनका रुपमा पनि अक्षयतृतीयाको दिनलाई लिने गरिन्छ । वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेतायुगको सुरुवात भएको मानिन्छ ।