१ मंसिर, काठमाडौं । मन चंगा छ । एकाबिहानै उड्दैउड्दै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा पुगिसकेको छ । घरबाट पाइला चाल्नुअघि नै मनले भने अन्नपूर्ण बेसक्याम्पमा लुटुपुटु गरिसकेको छ ।
सायद मनजत्तिकै तीव्र गतिमा मानिसको पैताला चल्ने भए म पनि सेकेण्डमै अन्नपूर्णलाई पृष्ठभूमिमा राखेर उफ्रिसकेको हुने थिएँ । तर, मनजस्तो कहाँ हुन्छ र यात्रा ? बन्दोबस्तीका सामग्री झोलामा राख्नैपर्यो, घरबाट निस्कनैपर्यो, पाइला चाल्नैपर्यो । मन अन्नपूर्ण आधार शिवरमा पुगेर रमाइसकेपछि म त्यही दृश्यलाई आँखा राखेर घरबाट निस्किएँ ।



